नियम १९४
प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन
(१) प्रहरी कर्मचारी, निजका परिवार तथा निवृत्त प्रहरी कर्मचारीको कल्याणका लागि एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् :–
(क) प्रहरी सेवाका कर्मचारीहरूको भत्ता वा पारिश्रमिकबाट तोकिए बमोजिम कट्टा गरिएको रकम,
(ख) नेपाल सरकार वा मान्यता प्राप्त संगठित संस्था वा व्यक्तिबाट प्राप्त चल, अचल सम्पत्ति,
(ग) विदेशी सरकार वा संघसंस्थाबाट अनुदानस्वरुप प्राप्त रकम तथा अन्य सहयोग,
(घ) तोकिए बमोजिम कल्याणकोषको चलअचल सम्पत्तिको लगानी र प्रयोगबाट आर्जित रकम,
(ङ) कल्याण कोषबाट राष्ट्र संघीय मिशनहरूमा लगानी गरेवापत राष्ट्रसंघबाट सोधभर्ना वापत प्राप्त हुने रकम,
(च) अन्य प्रचलित कानूनी स्रोतबाट प्राप्त रकम ।
(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि प्रहरी प्रधान कार्यालयले नेपाल सरकारको स्वीकृत लिनु पर्नेछ ।
(३) कल्याण कोषमा रहने रकम नेपाल राज्यभित्र नेपाल राष्ट्र बैंकले “क” श्रेणीको ईजाजत प्रदान गरेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
(४) कल्याण कोषको रकम बहालवाला तथा निवृत्त प्रहरी कर्मचारी र तिनका परिवारको कल्याणकारी कार्यमा मात्र खर्च गरिनेछ ।
(५) यो नियमावली प्रारम्भ हुनुअघि स्थापना भएका कल्याण कोषको चल अचल सम्पत्ति तथा दायित्व यो नियम बमोजिम स्थापना भएको कल्याण कोषमा सर्नेछ ।
(६) कल्याण कोषको आय व्यय सहितको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(७) कल्याण कोषको लेखा प्रचलित कानून बमोजिम राखिने छ । सो कोषको आन्तरिक लेखापरीक्षण सञ्चालक समितिले तोके बमोजिम र अन्तिम लेखा परिक्षण महालेखा परीक्षकबाट हुनेछ ।
नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि कल्याण कोषको हिसाब किताब जाँच्न वा जँचाउन सक्नेछ ।
(८) कल्याण कोषको योजना, बजेट, प्रगति तथा वार्षिक आयव्यय बारे कल्याण कोषले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।
(९) प्रहरी महानिरीक्षक कल्याण कोषको संरक्षक हुनेछ ।
(१०) कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको कल्याण कोष सञ्चालक समिति रहनेछ ः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग –अध्यक्ष
(ख) मेडिकल डाइरेक्टर, प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी अस्पताल–सदस्य
(ग) प्रतिनिधि, मन्त्रालय (राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृत) –सदस्य
(घ) प्रतिनिधि, अर्थ मन्त्रालय (राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृत) –सदस्य
(ङ) अवकाशप्राप्त र बहालवाला प्रहरी अधिकृत मध्येवाट संरक्षकले मनोनित गरेका दुई जना –सदस्य
(च) अवकाशप्राप्त र बहालवाला प्रहरी हवल्दार र प्रहरी जवान मध्येवाट संरक्षकले मनोनित गरेका दुई जना –सदस्य
(ज) प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा प्रमुख –सदस्य—सचिव
(११) उपनियम (१०) को खण्ड (ङ) र (च) बमोजिम मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(१२) कल्याण कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कल्याण कोषको आय व्यय र वार्षिक कार्यक्रम स्वीकृत गर्ने ।
(ख) नेपाल सरकारको स्वीकृतिमा फर्म पुलिस युनिट (एफपीयु ) मिशनहरूका लागि आवश्यक पर्ने बन्दोवस्ती सामानहरूमा गरिने लगानी सम्बन्धी निर्णय गर्ने ।
(ग) कल्याण कोष सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने ।
(घ) कल्याण कोषका लागि आवश्यक पर्ने जनशक्ति नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
(ङ) कल्याण कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरू छनौट गर्ने, थपघट तथा संशोधन गर्ने ।
(च) मन्त्रालय तथा कल्याण कोषका संरक्षक समक्ष कल्याण कोषको अवस्था र सञ्चालित कल्याणकारी कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ।